११ श्रावण २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

माटोमा कला भर्ने वीरपाल कुमाल वार्षिक ४ लाख कमाउँछन्

९ फागुन, कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् ।

भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन ७ दशकअघि यता आएका हुन् । बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हाल्दै आएका छन् ।

वर्षौँदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने सकेका छैनन् । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टाभर्ना नपाएका हुन् ।

‘देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्‍यो ‘, उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।’

नेपालमै उनको जन्म भयो, यहाँ तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको उनले बताए । कञ्चनपुर जिल्लामा उनी एक्ला माटोका भाँडाकुँडा बनाउने व्यक्तिका रूपमा चिनिन्छन् ।

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आएका छन् । उनी विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन् ।

कम्तीमा रु १५ देखि बढीमा रु दुई सय ५० मा उनले बनाएका भाँडाकुँडाको किन्न पाइन्छ । यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ ।

वार्षिक रु चार लाख कमाइ हुने उनी बताउँछन् । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा रु दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उनले बताए ।

‘परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ’, उनले भने, ‘बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।’ व्यवसाय दर्ता गरेर उनले काम गर्दै आएका छन् । तर अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा उनको व्यवसाय सङ्कटमा परेको छ ।

‘अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्’, उनले भने, ‘मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।’

अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उनी हतोत्साहित हुन्छन् । वडाध्यक्ष नवलसिंह रानाले पुर्खौँदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधाबाट बञ्चित रहनुपरेको बताए ।

‘कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ’, उनले भने, ‘त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्