१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

चरा संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड, १० बुँदे प्रतिबद्धता

२९ माघ, नवलपुर। विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थालेको भन्‍दै सरोकारवालाहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

नवलपुरको कावासोतीमा दोस्रो नेपाल बर्ड फेयरमा उनीहरूले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै चरा संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् ।

गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भने, ‘ चरा संरक्षणको चेतना बोध विस्तारै हुँदैछ नजमानसमा। थप जनचेतना फैलाउन गण्डकी सरकार लागि पर्नेछ। हामी यसबारेमा बहस र छलफल गरी योजना बनाएर काम गर्नेछौं।’

पोखरा पन्छी समाजका अध्यक्ष मन्शानत घिमिरेले आगामी दिनमा यही १० बुँदे घोषणा पत्रलाई  आधार मान्‍दै विकासका काम गर्नसमेत सुझाव दिए ।

उनले भने, ‘दिनानु दिन विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थाल्यो। यसले हाम्रो पारिस्थितिक प्रणालीलाई नै असर गर्‍यो। फलस्वरुप चराहरू संकटमा पर्न गए । अबका दिनमा १० बुँदे घोषणा पत्र पालना गरौं।’

साथै उनले चरा संरक्षण गर्नका लागि माध्यमिक तहको पाठ्यक्रममा समेत विषयवस्तु समेटिनु पर्ने बताए । उनले भने, ‘ चराको बासस्थान उजाडिनुमा हामी सबैको दोष छ। त्यसकारण यसलाई जोगाउन र जनचेतना फैलाउन माध्‍यमिक शिक्षाको पाठ्यक्रममा पनि चरा संरक्षणबारेको विषय समावेश हुनुपर्‍यो।’

यस्तै चरा संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षण संगै तीब्र गतिमा घट्दै गएका प्रजातिका संरक्षणको लागि विशेष कार्यविधि बनाउनुपर्नेलगायतका प्रतिवद्धता घोषणपत्रमा उल्लेख गरिएको छ।

दुई दिनसम्म भएको उक्त उत्सवमा देशभरका संरक्षणकर्मी, पन्छीविद् , वाइल्ड लाइफ फोटोग्राफर , नेचरगाइड , विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेकाे थियो  । तीन दिन सम्म सञ्चालनमा रहेकाे चरा मेलामा  चराकाे बासस्थानको संरक्षण, जनचेतना र पर्यटन विकासको बारेमा छलफल , प्रदर्शनीस्टल संगै नेचर गाइडहरुलाइ तालिम समेत दिइएको  थियो । यस्तै कावासाेती १२ विद्यालय विच चित्रकला प्रतियोगिता , चरा अवलोकन संगै विशेष त गिद्दा अवलोकनलाई समेत समावेश गरिएको थियाे ।

बर्ड फेयरमा पन्छी तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत, भुटान, जापान  लगायत विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्