Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अरूण चौधरीसहित ३ जना भोलि जमानतमा छुट्ने

रातो कागज
2 वर्ष अघि

२३ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना बुधबार जमानतमा छुट्ने भएका छन्। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख तथा सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले उनीहरूलाई बुधबार जमानीमा छोड्ने जानकारी दिए।

‘दुई दिनका लागि म्याद दिनुभयो। त्यसपछि हाजिर जमानीमा छाड्नु भन्नुभएको छ। अब हामी आदेशअनुसारै अगाडि बढ्छौं। भोलि (बुधबार) सरकारी वकिल कार्यालयमा हाजिर गराएर जमानी गरेर छाड्छौं,’ उनले भने, ‘अदालत पनि लग्न परेन। अनुसन्धानको काम निरन्तर भइरहन्छ।’

अनुसन्धान नसकिएकाले मुद्दा बुधबार नै दर्ता गर्न भने सम्भव नभएको उनले बताए।

सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो।

उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यसमक्ष पेस गरिएको थियो।

आचार्यको इजलासले उनीहरूलाई राख्नै पर्ने भए थप दुई दिन मात्र हिरासतमा राख्न र त्यसपछि हाजिर जमानीमा छोड्न आदेश गरेको हो। त्यसअघि बुधबार अदालतमा पेस गर्दा अदालतले चार दिनको अनुमति दिएको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ।

गत बिहीबार पत्रकार सम्मेलन गर्दै सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए।

जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सीआईबीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया