Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खुलामञ्चमा फुटबल मैदान नबनाउन मुक्त टुँडिखेल अभियानको ध्यानाकर्षण

रातो कागज
2 वर्ष अघि

२९ पुस, काठमाडौं । खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न मुक्त टुँडिखेल अभियानले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं महानगरले फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएपछि मुक्त टुँडिखेल अभियानले कार्यान्वयन नगर्न आग्रह गरेको छ । खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दुषित मनसायका साथ काठमाडौँ महानगरपालिकाले खुल्लामञ्चमा दुई वटा फुटबल ग्राउन्ड निमार्ण गर्न प्रस्ताव गरेको अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ । खुल्ला मञ्च भएको क्षेत्र तथा दैवी प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको तर दिन प्रतिदिन मासिदैं गएको अभियानले जनाएको छ ।

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको अभियानले तथ्यांक उल्लेख गरेको छ ।

खेलमैदान काठमाडौंको आवश्यकता भएपनि टुँडिखेल उपयुक्त स्थान नहुने अभियानले जनाएको छ । ‘खुला मञ्चको आफ्नै सांस्कृतिक,ऐतिहासिक, प्राकृतिक महत्व छ । खुला मञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने हाल रहेको लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागी महत्वपूर्ण क्षेत्र तथा जिवनदायिनी समेत हो,’ मुक्त टुँडिखेल अभियानले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ,‘दुई वटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको उपयुक्त प्रयोग समेत नहुने स्थिति देखिन्छ ।’

खुला मञ्चलाई पहिलाको जस्तै घाँसे मैदानकै रुपमा रहन दिनुपर्ने अभियानको माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया