२१ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटायो

१४ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताए ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबारबाट काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बिहीबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको बताए ।

‘हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भिर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ’, प्रचण्डले भने, ‘त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि