१२ श्रावण २०८१, शनिबार
समाचार समाज

विपिन जोशीका बुबा भन्छन् : प्रधानमन्त्रीले रिहाइको प्रयासमै छौं भन्नुभयो, कहिलेसम्म पो हो ?

२२ मंसिर, धनगढी । इजरायल-हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीका आमाबाबुले उनको रिहाइका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम आएका प्रधानमन्त्री प्रचण्डलाई धनगढी विमानस्थलमा भेट गर्दै विपिनका आमाबाबुले रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर छोराको अवस्था पत्ता लगाइदिनुपर्‍यो भनेर आग्रह गरेका छौँ । उहाँले हामी चाँडो रिहाइका लागि प्रयासमै छौं भन्नुभयो’, विपिनका बुवा महानन्द जोशीले भने, ‘तर कहिलेसम्म हुने हो त्यो थाहा छैन । हाम्रो सम्पर्कमा आएपछि मात्र विश्वस्त हुन सकिन्छ ।’

जोशीको परिवारसँग प्रधानमन्त्रीले परराष्ट्र मन्त्री एनपी साउद शनिबार इजरायल जान लागेको जानकारी समेत गराएका छन् ।

हमासले इजरायलमा आक्रमण गरेकै दिनदेखि बेपत्ता भएका जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । इजरायल सरकारले जोशी हमासको नियन्त्रणमा रहेको बताएको छ । जोशीका आमाबुवा झण्डै दुई महिनादेखि उनको रिहाइको माग गर्दै आएका छन् ।

‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्री पनि इजरायल जाँदै हुनुहुन्छ भन्नुभयो । विपिनकै लागि हो कि होइन थाहा भएन’, जोशीले भने, ‘एकपटक सम्पर्कमा आए छोरा फर्किहाल्ने थियो ।’ प्रधानमन्त्री आउने खबर पाएपछि शुक्रबार बिहान महेन्द्रनगरदेखि धनगढी आएका विपिनका आमाबुवा उनलाई भेटेर फर्किसकेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी सम्पर्कविहीन भएका थिए ।

इजरायली सेना र तेलअबिवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्