११ श्रावण २०८१, शुक्रबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु

१८ मंसिर, झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।

बाहिनीपति पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए । उनले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिए ।

नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले बताए ।

मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उनले बताए ।

झापासँग जोडिएको भारतीय सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र आज मर्मत सम्भार सुरु भएको सतिघ्ट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने उनले जानकारी दिए । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उनले बताए ।

नेपाल–भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ ।

दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ ।

हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । ‘केही स्थानमा घर बनाएर बसोबास समेत गरिएको पाइएको हुँदा हटाउन म्याद दिइएको हो’, गणपति अर्यालले भने, ‘दशगजामा सीमा स्तम्भको वारी ३० फिट र पारीतर्फ ३० फिट खाली गर्नुपर्ने दुवै देशबीचको सहमति छ । हामी नेपालतर्फको खाली गराउँछौं । भारतीय पक्षले उतातिरको खाली गराउँछन् ।

सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्