१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मधेश राजनीति

रास्वपाको बैठक जलेस्वरमा सुरु, यस्तो छ ३ दिनको कार्यतालिका

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए ।

पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो । बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची छ ।

सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन् भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

May be an image of 15 people and text

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । रास्वपाको नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि सोमबार साँझ बस्ने तय भएको छ ।

मंगलबार विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेश गर्नेछन् ।

मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ । महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियासहितको प्रतिवेदन मंगलबार पेश गर्नेछन् । मंगलबार नीति विचार प्रतिनिधिमण्डलको बैठक पनि बस्नेछ ।

तेस्रो दिन बुधबार विहान ७ बजे सुरु हुने बैठक १२:३० मा सक्ने कार्यतालिका छ । महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घण्टाभित्र सहभागीहरुले धारणा राख्नेछन् । त्यसलगत्तै, नीति र विचारमाथि बोल्नका लागि एक घण्टाको समय छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्