११ कात्तिक, गण्डकी। विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।
विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ ।
विजयादशमी पछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । ‘शुक्रबार मात्रै झण्डै चार सयको सङ्ख्याका आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा आएका छन्’, उनले भने, ‘पदमार्ग क्षेत्रका अन्य स्थानका होटेल भरिभराउ बनेका छन् ।’
पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरी पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म सवारीसाधनबाट पुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा गरेपछि अन्नपूर्ण आधार शिविर पुग्दछन् । थप लामो समय पदयात्रा गर्न चाहनेहरू पोखरा–बागलुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलबाट पनि पदयात्रा गर्ने गर्दछन् ।
नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेको सचिव गुरूङले बताए ।
हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । उनका अनुसार विदेशी पर्यटकका साथै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण पदयात्रा पर्यटनमा बढिरहेको छ ।
अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् । जथाभावी बाटो खन्नेक्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको वास्तविकतामा अन्नपूर्ण आधार शिविरसहित मर्दी हिमाल, पुन हिल, मिलेनियम ट्रेकलगायतका पदमार्ग पर्यटकको आकर्षक गन्तव्यमा पर्दै गएका छन् ।
जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिँदै जानु पदयात्रा पर्यटनका लागि चुनौतीको विषय भएको जनाउँदै अध्यक्ष पन्थीले भएका पदमार्गको संरक्षणसँगै वैकल्पिक पदमार्गको खोजी गरिनुु अपरिहार्य भएको बताए ।
फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गरेको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए ।
हालसम्म तीन संस्करणसम्मको अन्नपूर्ण म्याराथन सम्पन्न भइसकेको जनाउँदै उनले त्यसबाट अन्नपूर्ण आधार शिविरिको पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको थप आकर्षण बढिरहेको बताए ।
आजभन्दा साढे चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटलले पर्यटकको स्वागत गरिरहेका छन् ।
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका थिए ।







