८ पुष २०८२, मंगलवार
समाज सूचना प्रविधि

मोबाइल टावरहरूमा विद्युतीय विकिरण मात्रा नापिंदै

६ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिने हेतुले विकिरण मापन गर्ने तयारी गरिएको हो ।

विभिन्न शहरी तथा ग्रामीण क्षेत्रका मोबाइल टावरको उपकरणको रेडियो फ्रिक्वेन्सीले उत्सर्जन गरेका विद्युतीय विकिरण नापेर त्यसको मात्रा नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्ड अनुरुप रहे/नरहेको बारे प्रतिवेदन लिने योजना छ ।

ईएमआर मापदण्ड मापन तथा प्रमाणीकरण गरेर समस्या देखिएका टावरमा सुधारको लागि निर्देशन दिइने प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए ।

प्राधिकरणले जारी गरेको ‘मोबाइल टावरका रेडियो फ्रिक्वेन्सीबाट सिर्जना हुने विकिरणबाट जनसाधारण तथा पेशागत सुरक्षा सम्बन्धी विनियमावली’ कार्यान्वयनको अवस्थामाथि अध्ययन तथा विश्लेषण गर्न यस्तो मापन गरिने उनले बताए ।

अस्पताल, विद्यालय नजिक क्षेत्रका टावरहरूमा मापन गरेर मापदण्डभन्दा बढी विकिरण उत्सर्जन हुन बाटो रोक्ने प्राधिकरणको योजना छ । यसरी परीक्षण गर्दा सबै अपरेटरका टावरहरू समेटिने उनले बताए ।

परीक्षणमा ९०० देखि १८००, २१००, २३०० र २५०० मेगाहर्ज ब्यान्ड समावेश हुनेछन् । परीक्षणले टावरबाट सिर्जित विकिरणले सर्वसाधारणलाई पार्ने जोखिम नियन्त्रण र विनियमावली लागू गर्न चाल्नुपर्ने कदमबारे थाहा हुने प्राधिकरणले बताएको छ ।

‘काठमाडौं, पोखरा, दाङसहित विभिन्न क्षेत्रमा यसअघि गरेको परीक्षणमा केही टावरमा समस्या देखिएको थियो, हामीले आवश्यक सुधार गर्न पनि लगाएका थियौं’ उनले भने, ‘टावरहरूले मानव स्वास्थ्य र वातावरणमा सामान्यतया हानि-नोक्सानी गर्दैनन्, तर विकिरणको मात्रा भने मापदण्ड अनुसार होस् भनेर हामीले यो वर्ष पनि मापनको कार्यक्रम राखेका हौं ।’

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने