१२ श्रावण २०८१, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

धानलाई रोगबाट जोगाउन थारू गाउँमा बर्ना पूजा

६ भदौ, नवलपुर। धानबालीलाई रोगबाट जोगाउनका लागि नवलपुरका थारू समुदाय बर्ना पूजा (हरेरी पूजा) आयोजना गर्नमा व्यस्त रहेका छन् ।

थारू समुदायका गाउँमा अहिले बर्ना अर्थात हरेरी पूजा गर्ने कार्य भइरहेको छ । थारू समुदायका मुख्य व्यक्ति वडघरियाको घरमा भेला भई गाउँको देवथान बर्ना पूजा गर्ने परम्परागत चलन रहेको छ ।

यसमा भुइया भवानीको पूजा गरिन्छ । पूजा गर्ने दिन भने हरियो घाँस काट्न भने पाइँदैन । गाउँका सबै जनाले एक दिन घाँस काट्दैनन् ।

साउनको अन्तिम सातादेखि भदौको पहिलो साता बर्ना पूजा गरिँदै आएको कावासोती नगरपालिका-४ रतवलका गुरो कमलराज गुरौ थारूले बताए । उनका अनुसार दुई दिन आयोजना गरिने पूजामा पहिलो दिन गाउँका सबै जनाले अनिवार्य उपस्थित भई घरमा पूजाआजामा व्यस्त हुन्छ ।

त्यस क्रममा एक अर्काको घरमा गएर खानपिन गर्ने र रमाइलो गरिन्छ । ‘कोही जोक्कर (सोङग्या) बनेर हसाउँछन्’, गुरौ थारूले भने, ‘कोही परम्परागत गीत र नृत्यमा रमाउँछन् ।’

भोलिपल्ट गाउँका सबैका घरघरबाट दूध सङ्कलन गरी ठूलो भाँडोमा राख्ने कार्य हुन्छ । दूधमा पानी मिसाएर गुरुवाले त्यस भाँडोमा मन्त्र फुक्ने गर्दछन् । पानी मिसाएको मन्त्रयुक्त दूधलाई गाउँका सबै जनालाई पुग्ने गरी बाँड्ने कार्य सुरु हुन्छ ।

सिरु घाँसको बढनी (मुठा)ले दूधलाई खेतमा लगेर चारैतिर छर्कने गरिन्छ । त्यसबाट धानबालीमा रोगव्याधी हटेर हरियो भई बढी उत्पादन हुने जनविश्वास रहिआएको छ।

धानबालीमा पानीयुक्त दूध छर्केपछि घर फर्केर रमाइलो गर्ने र मासुभात खाने चलन रहेको रतवलका गुरौ बताउँछन् ।

बर्ना पूजापछि धानको बाला निस्केर गाँधी (गन्हाउने किरा) हाँक्ने चलन पनि थारू समुदायमा रहेको छ । गाँधी हाक्ने दिन गाउँका गुरुवाले एकदेखि दुई जोर गन्हाउने किरा खोजेर खाने गर्दछन् । त्यसले गर्दा धानबालीमा यस किराको प्रकोप नहुने विश्वास थारू समुदायमा रहेको छ ।

गुरुवाले किरा खाने कार्यपछि तान्त्रिक विधि विधानको आयोजना गरी धुप खरिया (एक प्रकारको घाँसको डाँठ)मा बालेर खेतको चारैतिर धुवाँ लगाउने गरिन्छ । यसो गरे धानबालीबाट किरा आफैँ हटेर जाने थारू समुदायका बूढापाकाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्