११ श्रावण २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार

चितवनका दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

७ भदौ, चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका-९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए । उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो ।

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उहाँले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना सङ्कलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो ।

यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ ।

पचासी पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए ।

चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्