७ जेष्ठ २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार

सकिना महर्जनलाई मिस नेवाः नेपालको उपाधि

६ भदौ, काठमाडौं । मिस नेवाः नेपाल ११४३ को उपाधि काठमाडौं चन्द्रागिरीकी सकिना महर्जनले जितेकी छन् । नेप्लिज फेसन होमले काठमाडौंमा आयोजना गरेको फिनालेमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।

उपाधिबापत उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मंगलबार राति प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेवारी कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो ।

सकिनाले शीर्ष पुरस्कारसँगै मिस पर्सनालिटीको सहविधा पनि हात पारिन् । काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनरअप र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनरअप घोषित भए ।

कृष्टि प्रजापति मिस ट्यालेन्ट र मिस फोटोजेनिक, अंशु प्रजापति नेपाल भाषा, तिमिला महर्जन सामाजिक सद्भावना दूत, एड्रिना श्रेष्ठ पहिरन, खुसी डंगोल मिस कल्चर, तुलसी कंसाकार मिस ट्यालेन्ट, तुलसा प्रजापति वेस्ट हेयर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन विजेता घोषित भए ।

फिनालेकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म आइपुगेको बताइन् । उनले मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन् । नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको उनले बताइन् ।

रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्