१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

काठमाडौँ प्रहरीमा एक महिनामै १ हजार २७५ मुद्दा दर्ता

१ भदौ, काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चालु आवको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गत आवको साउन महिनामा भन्दा चालु आवको साउन महिनामा अपराधका घटनामा वृद्धि भएको बताए ।

काठमाडौँ प्रहरीका अनुसार बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरमा पाँच सय ६०, अभद्र व्यवहारमा दुई सय ७९, भवितव्य ज्यानमा एक सय १९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागू औषधमा ३१, आत्महत्यामा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७ र अन्य अपराधमा एक सय १९ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले मुद्दा दर्ता भएकामध्ये सात सय ६० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बैंकिङ कसुरमा दुई सय १२, अभद्र व्यवहारमा चार सय ३४, चोरीसम्बन्धी कसुरमा ८२, ठगीमा १२, लागू औषधमा ५१, जबरजस्ती करणीमा ३४, जुवामा एक सय १३ र अन्य अपराधमा एक सय ७८ रहेका छन् ।

गत वर्षको साउनमा मात्र विभिन्न अपराधमा एक हजार ४७ मुद्दा दर्ता भएको प्रवक्ता ढुङ्गेलले बताए । काठमाडौँ प्रहरीले साउन महिनामा बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटी वृत्तमा हिरासतमा पुस्तकालयको व्यवस्था मिलाएको छ ।

एक महिनाको अवधिमा काठमाडौँका विभिन्न क्षेत्रबाट हराएका दुई सय ४९ व्यक्तिमध्ये एक सय ७१ जनालाई खोजी गरी सम्बन्धित परिवारलाई बुझाएको छ भने चोरी, हराएर वा पाकेटमारी भएका दुई हजार दुई सय ८७ निवेदनमध्ये तीन सय ९७ निवेदनमाथि खोजी गरेर सम्बन्धित धनीलाई बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्