१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

दुर्गममा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम हट्यो

३२ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको

रोक हटाएको छ । अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्‍नेछ ।

यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।

यस्तै उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन अब अतिरिक्त समयका लागि चालक दल स्वयमले जिम्मेवारी लिनु पर्नेछ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्‍य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ । तर, चालक दल र त्यसमा पनि पाइलट इन कमाण्ड पूर्ण रुपमा सन्तुष्ट नभएसम्म भने कुनै पनि उडानको अनुमति नदिने प्राधिकरणले स्पष्ट पारेको छ ।

नेपालगञ्ज विमानस्थलबाट साना विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अब अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नु पर्ने प्राधिकरणको नियममा उल्लेख छ ।

पहाडी भेगका विमानस्थल र सबै साना विमानस्थलको सञ्चालन समय पुनरावलोकन तथा ‘इनरुट वेदर’बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्