१२ श्रावण २०८१, शनिबार
अर्थ

०.०५ प्रतिशत करदाताले नै तिर्छन् ८० प्रतिशत राजस्व

३० साउन, काठमाडौं । नेपालमा ० दशमलव ०५ प्रतिशत करदाताबाट करिब ८० प्रतिशत राजस्व संकलन हुने गरेको देखिएको छ ।

सरकारले गत आर्थिक वर्ष ०७९/८० मा कुल ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । त्यसमध्ये ठूला २९९१ करदाताबाट ३ खर्ब ७४ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ । यो कुल संकलित राजस्वमा ७८.१४ प्रतिशत हिस्सा हो ।

यति मात्रै होइन, नेपालमा ठूला १०० करदाताबाट मात्र आधा आन्तरिक राजस्व उठ्ने गरेकोसमेत पाइएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा धेरै कर तिर्ने पहिलो १ सय करदाताबाट मात्र २ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम यस आवमा उठेको कुल राजस्वको ५२.४६ प्रतिशत हो ।

विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईका अनुसार यस आवमा ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य रहेको थियो । असार मसान्तसम्म संकलन लक्ष्यको ७६.५७ प्रतिशत मात्र हुन सक्यो ।

यसरी संकलित रकममध्ये ५२.४६ प्रतिशत राजस्व पहिलो १ सय करदाताबाट उठेको हो । उनका अनुसार १ करोडभन्दा बढी राजस्व दाखिला गर्ने करदाताका आधारमा यो आँकडा निकालिएको हो ।

विभागका अनुसार संख्यात्मक हिसाबले यस वर्ष पहिलो १ हजार करदाताबाट ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको छ । यो ७१.३२ प्रतिशत हिस्सा हो । पहिलो २ हजार करदाताबाट ३ खर्ब ६२ अर्ब ८२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ ।

ठूला करदाताबाट संकलन हुने करमा आम करदाताको अप्रत्यक्ष सहभागिता रहने चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल बताउँछन् । ‘१ हजार कर्मचारी रहेको कार्यालयले सबै कर्मचारीको १ प्रतिशत कर काटेर बुझाउँदा उसले लाखौं कर बुझाएको देखिन्छ,’ उनले भने, ‘तर, त्यो करमा १ हजार कर्मचारीको पनि हिस्सा हुन्छ’ मूल्य अभिवृद्धि कर, अन्तः शुल्कजस्ता अप्रत्यक्ष कर उपभोक्ताले तिरे पनि त्यसको संकलन निश्चित व्यवसायीले गर्ने र सरकारलाई बुझाउने हुनाले पनि थोरै करदाताले धेरै कर तिरेको देखिएको हो ।

सोहीकारण कतिपय अवस्थामा ठूला करदाता कर संकलक मात्र रहने हुँदा अप्रत्यक्ष रुपमा धेरै मानिसले कर तिरिरहेको विषय बिर्सन नहुने दाहाल बताउँछन् ।

‘नागरिकले उपयोग गर्ने हरेक वस्तुमा राज्यले कर लिन्छ’, उनी भन्छन्, ‘त्यसकारण करमा अधिकांश नागरिकको अप्रत्यक्ष सहभागिता हुन्छ ।’

करदाताको संख्या बढ्दै, कर संकलनमा भने छैन प्रगति

आन्तरिक राजस्व विभागका अनुसार अहिले देशभर ५५ लाख ५४ हजार करदाता पुगेका छन् । आर्थिक वर्ष २०७९÷८० मा मात्र नयाँ प्यान नम्बर लिने करदाता ७ लाख ६६ हजार जना थप भएका छन् । तर, करदाता संख्याका आधारमा कर संकलन भने अझै बढ्न सकेको छैन ।

यस आवमा आयकरतर्फ कुल करदाताको ५२.२४ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ६१.७३ प्रतिशत करदाताले मात्र विवरण बुझाएका छन् ।

यस आवमा आव २०७८/७९ को तुलनामा आन्तरिक राजस्व संकलन ०.७७ प्रतिशतले ऋणात्मक रहेको छ । सो आवमा ४ खर्ब ८३ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको थियो । अघिल्लो वर्ष भन्दा मूल्य अभिवृद्धि कर र अन्तःशूल्कमा झिनो वृद्धि भएपनि आयकरमा बढी कमी आएको देखिएको छ । यसले वृद्धिदरमा प्रभाव पारेको हो ।

विभागका अनुसार अहिले कारोबार गरेका तर विवरण नदिने ननफाइलर करदाताको विवरण देखिने प्रणाली विकास गरिएको छ । अर्कोतर्फ झुट्टा तथा नक्कली बिल बिजक प्रयोग गरेका १९८६ करदातामाथि छानबिन/अनुसन्धान समेत विभागले थालेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्