९ बैशाख २०८१, आईतवार
गण्डकी प्रदेस समाचार फिचर (Main Feature) फोटो फिचर समाचार समाज

मुस्ताङको कागबेनीमा कसरी पस्यो बाढी ? (तस्वीरहरू)

२९ साउन, बेनी । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।

कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भयो।

‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पाकेको खाना छाडेर भाग्यौं,’ उनले भने, ‘यहाँका बुढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो पानी परेको बताउँछन्।’

आइतबार राति आएको भेलबाढीले पर्यटकीयसँगै र धार्मिक महत्वको कागबेनी बजार क्षतिग्रस्त बनाएको छ। बाढीले इलाका प्रहरी कार्यालय, प्रभु बैंक बसेको भवन, अपर मुस्ताङ जोड्ने पक्की पुल, सामुदायिक विद्यालयमा क्षति पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार कालो लेदोसहितको बाढीले २२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने अरू घरमा पनि क्षति पुगेको छ।

कागबेनीमा यति ठूलो भेलबाढी किन आयो?

मुस्ताङ तुलनात्मक रूपमा कम पानी पर्ने जिल्ला हो। जल तथा मौसम विज्ञान विभागको आँकडाअनुसार जोमसोम केन्द्रमा वर्षभरिमा औसत २९२.७ मिलिमिटर पानी पर्छ। विभागका अनुसार जोमसोमदेखि माथिल्लो क्षेत्रमा झन् कम पानी पर्छ।

वर्षातकै समयमा पनि मुस्ताङको तल्लो तटीय क्षेत्रमा कम पानी परेको तथ्यांक छ। विभागका अनुसार जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्टभरिमा औसत ४३.९ मिलिमिटर वर्षा मापन हुन्छ।

केही वर्षयता मौसमले आफ्नो स्वभाव फेरेको छ। २०७८ असारमा मनाङसँगै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पनि वर्षा खनियो। जलवायु विज्ञहरूले त्यसलाई हिमाली भेगको हाँडीघोप्टे वर्षा भएको बताए।

सिन्धुपाल्चोकको उत्तरपश्चिम भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले तल्लो तटीय क्षेत्र (किउल, चनौटे, मेलम्ची बजारलगायतका ठाउँ) खण्डहर बनायो।

आइतबार राति कागबेनीमा पनि मनाङ र हेलम्बुकै जस्तो गेग्रानसहित भेलबाढी आएको छ।

तुलनात्मक रूपमा कम पानी पर्ने मुस्ताङका किन भेलबाढी आयो भनेर हामीले जल तथा मौसम विज्ञान विभागलाई नै सोध्यौं।

विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनिल पोखरेलले बाढीको कारणको खोजी भइरहेको बताए। अहिलेसम्मको सूचना र तथ्यांकलाई विश्लेषण गर्दा माथिल्लो भेगबाट बगेर आउने खोला थुनिएर एक्कासि खोलिँदा भेलबाढीको रूप लिएको हुन सक्ने उनले औंल्याए।

‘जोमसोम स्टेसनमा प्राप्त सूचनालाई विश्लेषण गर्दा त्यहाँ माथिल्लो भेगबाट बगेर आउने खोला थुनिएको हुन सक्छ। थुनिएको खोला एक्कासि खोलिँदा भेलबाढीको रूप लिएको हुनसक्छ। यो हाम्रो प्रारम्भिक आकलन मात्रै हो,’ पोखरेलले भने।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले खोला नथुनिएको बताए। तल्लो र माथिल्लो थुम्क्याइलो भूबनोट वर्षा नथेग्ने प्रकृतिको छ। उनले शनिबारदेखि नै सिमसिम पानी परिरहेको र त्यही पानीले लेदो बगाएर ल्याउँदा भीषण बाढीको रूप लिएको र व्यापक क्षति पुर्‍याएको बताए।

‘मुस्ताङ वर्षात् कम हुने जिल्ला हो। अन्यत्रको तुलनामा यहाँ वर्षा नगण्य हुन्छ भन्दा हुन्छ। तर, केही दिनयता निरन्तर वर्षात् भएको थियो,’ उनले भने, ‘त्यही कारण अचानक भेलबाढी आउँदा ठूलो क्षति भयो।’

वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले पनि तल्लो, माथिल्लो मुस्ताङमा पानी नै कम पर्ने बताए।

कागखोला र आसपासमा बर्सेनि बाढी आउने भए पनि प्रकोप क्षतिको रूप लिएको थिएन। बाढीको जोखिम नदेखेरै तटीय क्षेत्रमा घर, होटल बन्ने क्रम बाक्लिएको थियो।

तर, आइतबार राति साढे ७ बजेतिर बाढी आउँदा तटीय क्षेत्र कागबेनी खण्डहर बनायो।

कागबेनी पर्यटकीय रूपले मात्र नभई धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको ठाउँको हो। मुक्तिनाथ तीर्थाटनमा जानेहरू कागखोला र कालीगण्डकीको संगमस्थलमा नुहाएर पितृ तर्पण दिन्छन्।

कुशे औंसीमा त त्यस क्षेत्रमा ठूलै मेला लाग्छ। पश्चिमतिरबाट बगेर आउने कालीगण्डकी र उत्तरतिरबाट बगेर आउने ठाडो कागखोलाको किनारको बजार नै कागबेनी हो।

अहिले त्यही ठाडोखोलामा गेग्रानसहितको बाढी आएको गाउँपालिकाका प्रवक्ता गुरूङले बताए।

कागखोला भन्दामाथि धुङ खोला छ। बाढीको उत्पत्ति त्यतैबाट भएको स्थानीयको अनुमान छ।

ठाडो खोलामा भेल आउँदा किनारका घर भत्काउनुका साथै अधिकांश घरमा बाक्लो लेदासहितको भेल पसेको गुरूङले बताए।

‘मुस्ताङका डाँडाँकाँडा माटैमाटाको ढिस्कोजस्तो छन्। सानो पानी पर्नेबित्तिकै लेदो बग्न थालिहाल्छ। लेदो बढ्दै गएपछि वरिपरिका ढुंगा सोर्ने हुँदो रहेछ। चारैतिरबाट आएको त्यस्तो भेलले बाढीको रूप लिँदा व्यापक क्षति पुर्‍याउँदो रहेछ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार लोमनथाङ, समर गाउँ र भी गाउँमा वर्षा मापन केन्द्र राखिएका छन्।

पछिल्लो २४ घन्टामा ती स्टेशनमा मापन भएको वर्षाको विवरण प्राप्त भएको छैन। मौसम प्रतिकूल रहेकाले त्यहाँको तथ्यांक केन्द्रलाई उपलब्ध हुन नसकेको मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए।

गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो ।

हुमागाईंका अनुसार कागबेनी नजिकैको तल्लो स्टेसन, जोमसोममा पछिल्लो २४ घन्टामा २५.२ मिलिमिटर वर्षा मापन भएको छ। जुन औसतभन्दा निकै नै बढी हो।

‘हामीले कागबेनी आसपासका स्टेशनबाट जानकारी पाउन सकेका छैनौं। वर्षा मापन यन्त्र नै भेलबाढीमा बगे कि भन्ने आशंका छ,’ हुमागाईंले भने,‘हामी फोनबाट जानकारी लिने प्रयास गरिरहेका छौं।’

आइतबार साँझबाटै खोलाको सतह बढ्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतिर गएका थिए। जसका कारण पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए।

अहिले बाह्य जिल्लाबाट काम गर्न पुगेका १५० कामदारलाई तल जोमसोम झार्ने तयारी भइरहेको प्रजिअ केसीले बताए। विस्थापित ५० स्थानीयबासीलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको उनले बताए।

‘अवरूद्ध विद्युत सञ्चालन गर्न विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको छ। पक्की पुल नै बगाएपछि माथिल्लो मुस्ताङसँगको पहुँच पनि टुटेको छ। त्यसठाउँका काठेपुल हाल्ने कि अरू विकल्प के हुन्छ भनेर छलफल गर्दैछौं,’ गाउँपालिकाका प्रवक्ता प्रमेशले सेतोपाटीसँग भने, ‘अहिले सुरक्षाकर्मीहरूले लेदोसहितको बाढी पसेको घरबाट सामानहरू निकालिरहेका छन्। खोलाको सतह घटिसकेकाले त्रास पनि कम भएको छ।’

क्षतिको विवरण संकलन गर्न सुरू

हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।

गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितण्डा मच्चाउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्‍याएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि बाढीको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेका छन् ।

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिकस्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ ।

बाढीले कागबेनीमा रहेको एनएमबी बैंक रहेको घर र जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति पुर्‍याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए ।

‘रातमा बाढी आएपछि भागदौड गरेर स्थानीय ज्यान जोगाउन सफल भए, बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ, क्षतिको विवरण सङ्कलन भइरहेको छ, घरबारबिहीनको आपतकालीन बसोबासका लागि पहल गरेका छौँ’, अध्यक्ष गुरुङले भने । बाढीले घरबारविहीन भएकाको आपतकालीन बसोबासको व्यवस्था मिलाउनसमेत गाउँपालिका र जिल्ला सुरक्षा समितिले आवश्यक तयारी अगाडि बढाएका छन् ।

बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेशिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

बाढीले घरहरु बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ । त्यसैगरी बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ । पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्कविच्छेद भएको छ ।

प्रभावित नागरिकलाई तत्काल सहयोग पठाइने

गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठकले उक्त निर्णय गरेको हो । गएराति बाढीले कागबेनी क्षेत्रका घरहरू बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् ।

बैठकले राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्न मेशिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ ।

बैठकले जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आएअनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने निर्णय गरेको छ । त्यसैगरी बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षणलगायत कार्यहरूमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयरूबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न निर्देशन गरेको छ ।

मौसम प्रतिकूल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्र्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाइने जनाइएको छ । लगातार वर्षात हुँदा बाढी, पहिरोबाट पुगेको क्षतिका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिए ।

प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको विपद् व्यवस्थापन कोषको रकम खर्च गरेर विपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरी अघि बढ्न उनले निर्देशन दिए । थप सहयोग आवश्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायसहित जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिए ।

बैठकमा मुख्यमन्त्री पाण्डेले उद्धार, उपचार, राहत र पुनर्स्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै सरकारी, गैरसरकारी सङ्घ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरेका थिए ।

Visited 1 times, 1 visit(s) today
Avatar

रातो कागज

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *