७ जेष्ठ २०८१, सोमबार
फिचर (Main Feature) भिडियो राजनीति

संसदको अवरोध अन्त्य गर्न एमालेलाई कांग्रेसको आग्रह

‘विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय’

२९ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्न एमालेलाई अपील गरेको हो ।

प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रुपमा प्रश्तुत हुनु स्वभाविक भएपनि लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको काँग्रेसको ठहर छ ।

बैठकले सत्तारुढ दलहरुसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘संघीय संसद नै निष्क्रिय भएको अवस्थाले संसदीय पद्धतिप्रति नै जनतामा वितृष्णा उत्पन्न हुने जोखिम भएको हुँदा लामो समयसम्म संसद अवरोध गर्ने कार्यलाई उचित मान्न सकिँदैन । अतः यो बैठक संसदको प्रमुख प्रतिपक्ष दललाई सदनको अवरोध समाप्त गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सुनिश्चित गर्न अपील गर्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।

कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको बताएको छ । यस्ता गैरकानूनी पूर्ण रुपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।

प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।

‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटना बारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ’ कांग्रेसले निर्णयमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्