१२ श्रावण २०८१, शनिबार
राजनीति

सत्तामा हुँदा संसद विघटन, विपक्षमा अवरोध गर्ने यो के तरिका हो ?

२६ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सत्तारुढ सांसदहरुले संसद अवरोध हुँदा जनजीविकाका विषय ओझेलमा परेको गूनासो गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । अवरोध गरेको प्रति प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रका सांसद गंगाकुमारी वेलवासेले प्रश्न गरिन्, ‘सरकारमा हुँदा संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने यो के तरिका हो ?’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको सरकारले परिवर्तित व्यवस्था अनुसार ऐन कानुन बनाउने र मुलुकलाई आर्थिक विकासमा अगाडि बढाउने जनताको अपेक्षा रहेकोमा त्यस विपरित विगतमा संसद नै विघटन भएको उनको टिप्पणी छ । तर, सरकारबाट हटेपछि संसद चल्नै नदिने प्रवृति देखा परेको उनको आरोप छ । पटक पटक संसद अवरोध हुँदा त्यसको क्षेति मुलुकले बेहोर्नुपरेको उनको भनाइ छ ।

‘जनताका आवश्यकताहरु सम्बोधन गर्न पनि सकिन्न, सरकारलाई साथ दिन पनि सकिन्न, संसद चलाएर यसमार्फत सरकारको सकारात्मक आलोचना पनि गर्न सकिन्न’ भन्ने निचोडमा प्रमुख प्रतिपक्षी दल पुगेको हो कि भन्दै उनले प्रश्न गरिन् । यो तरिका बदलेर अगाडि बढ्न एमालेलाई माओवादी सांसद वेलवासेको सुझाव छ ।

एमालेकी सांसद भगवती न्यौपानेले आफूहरुले सभ्य तरिकाले सदन अवरोध गरेको बताइन् । आफूहरुले जायज विषयहरुमा मात्रै सदनमा अवरोध गरिएको बताइन् ।

‘सदन रहरका निम्ति अवरोध गरिरहेका छैनौं । यो बाध्य पारिएको छ’ उनले थपिन, ‘यो देशलाई तस्करमुक्त बनाऔं भन्ने हाम्रो कुरा हो । तर सरकार गम्भीर भइराखेको छैन ।’ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले संसदमा निरन्तर अवरोध हुने र संसदले काम गर्न नसक्ने अवस्थामा रहँदा प्रजातन्त्र कमजोर हुने बताए ।

‘के का निम्ति संसद अवरोध ? के राज छ ? के रहस्य छ ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्