१२ श्रावण २०८१, शनिबार
राजनीति

संसद अवरोध हुँदा जनताका आवाज रोकिए : सभामुख घिमिरे

२२ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा अवरोध हुँदा जनताको आवाज रोकिएको बताएका छन् ।

‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन’ नयाँ वानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले भने ।

सदनमा जारी अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो ३ बजे वानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख तीन् दलका प्रमुख सचेतक र सचेतकहरु छलफलमा बसेका थिए ।

त्यसअगाडि साढे १२ बजे नेताहरु सिंहदरवार स्थित सभामुखको कार्यकक्षमा छलफलमा बसेका थिए । दुवै छलफल निस्फल भएपछि सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । यस सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक चल्न दिएको छैन ।

सत्तारुढ दलहरु सरकारी अनुसन्धान टुंगो लागेपछि मात्रै अर्को छानकिन समिति गठन गर्न सकिने बताइरहेका छन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानका कारण संसद चल्न सकिरहेको छैन ।

फेरि पनि सहमतिको विकल्प नरहेको सभामुख घिमिरे बताउँछन् ।

‘मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु’ सभामुख घिमिरेले भने । आफू सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा नरहेको पनि उनले बताए ।

सभामुख घिमिरेका अनुसार प्रमुख नीत दलका शीर्ष नेताहरुको अर्को बैठक मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । उनी भन्छन्, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’

 

प्रतिक्रिया दिनुहोस्