१२ श्रावण २०८१, शनिबार
राजनीति

संसदको अवरोध हटाउन शीर्ष नेताहरूको छलफल सिंहदरवारमा

२२ साउन, काठमाडौं । संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो ।

संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफल गराएका हुन् ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन् ।

आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो ।

आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

प्रतिक्रिया दिनुहोस्