१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

२१ साउन, चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।

खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आज दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए ।

शव केराघारीबाट निकालिएको र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको पन्तले बताए। बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

चितवनमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्