१२ श्रावण २०८१, शनिबार
अर्थ बैंक–वित्त

बाग्लुङको कुडुँले फेदीमा शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना

२० साउन, बाग्लुङ । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् ।

अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गरेका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं संवर्द्धनमा लागिरहने बताए ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दू धर्मावलम्बीको सङ्गमस्थलका रूपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्रामसमेत सञ्चालनमा रहेको सोही स्थानमा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले औषधालय स्थापना गरिएको स्वामी कमलनयन आचार्यले बताए ।

श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोनाकालमा औषधोउपचार अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पूरा भएको बताए ।

‘कोरोनाकालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै बिरामी भएपछि यहाँ एउटा स्वास्थ्योपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो’, प्रपनाचार्यले भने, ‘कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलब्ध सेवा यहाँबाट प्रदान गर्न थालेका छौँ ।’

मन्दिरमा आएको भेटी, शालग्राम सङग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।

मुक्तिनाथ पिठाधिस्वर कमलनयन आचार्यले पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउँदै औषधालयलाई अस्पतालका रूपमा विकास गर्ने परिकल्पना गरेको बताए ।

कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा योगदान गरेका पुरुषोत्तम आचार्यलाई अभिनन्दन गरिएको थियो । महासङ्घका अध्यक्ष ढकालले भूमिगतरूपमा निर्माण गरिएको शालग्राम सङ्ग्रहालयको निरीक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्थासमेत समेटिएको भूमिगत सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

विश्वकै एकमात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम सङ्ग्रहालय लोप हुँदै गएपछि विसं २०७६ मा श्रीधराचार्यको सङ्ग्रहालय निर्माण गरेर सवा लाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४औँ जन्मजयन्तीका अवसरमा उहाँकै नाममा औषधालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्