१२ श्रावण २०८१, शनिबार
समाज

स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपालीमा सोध्ने त्रिविको तयारी

१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा.धर्मकान्त बाँसकोटाले बताए ।

‘स्नातक तहमा आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ ।’

साथै उनले नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्ने उनको भनाइ थियो ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यता अनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन । किनकी मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।’

हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुककै ठूलो विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।

प्रतिक्रिया दिनुहोस्