१२ श्रावण २०८१, शनिबार
राजनीति

माओवादी बैठकमा ७५८ जना सहभागी हुने, प्रवेश शुल्क ५००

१६ साउन, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठानमा बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेण्डामा छलफल गरेपछि ११ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।

पार्टी कार्यलय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘आज देशभरबाट सहभागी हुने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, पार्टी विभागका प्रमुख र सचिवसहित ७५८ जनालाई परिचयपत्र वितरण सम्पन्न भएको छ । त्यसमध्ये ३८७ जना पूर्ण केन्द्रीय सदस्य र बाँकी विभाग र प्रदेशका पदाधिकारी हुनुहुन्छ,’ कार्यालय सचिव उपाध्यायले भने । यसबाहेक अन्य लजिस्टिकको तयारी पनि पूरा भएको उनले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति सदस्यलगायत सहभागी आफैले खाने र बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीले बैठक स्थलमा खाजा र स्टेसनरीको व्यवस्था मात्रै गरेको छ । पार्टीले बैठक प्रवेश शूल्क स्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ तोकेको छ ।

त्यस्तै बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् । उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकअघि बुधबार बिहान ८ बजे बस्ने स्थायी समितिले पारित गर्नेछ ।

त्यसका लागि पदाधिकारी बैठकले जिम्मेवारी दिए अनुसार अध्यक्ष प्रचण्डको निर्देशनमा पदाधिकारीहरूले मस्यौदा तयार पारेका छन् ।

अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएका छन् भने पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बनाएका छन्। सोही मस्यौदालाई अध्यक्ष प्रचण्डले अन्तिम रूप दिएर बैठकमा पेश गर्नेछन् ।

राजनीतिक प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको एकता प्रस्ताव र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको एकताका विषय समेटिएको एक नेताले बताए ।

यस्तै पार्टीको विधान सम्मेलन, संघीय, प्रदेश र स्थानीय सरकारको समीक्षा तथा समाजवादी मोर्चा निर्माणको विषय प्रतिवेदनमा समेटिएको छ । सांगठनिक प्रतिवेदनमा जनवर्गीय संगठन, विभाग र केन्द्रीय समितिको आकार भद्दा भएको भन्दै व्यवस्थित गर्ने प्रस्ताव अघि सारिएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा महासचिव गुरुङले एजेन्डा प्रस्तुत गर्ने र त्यसपछि अध्यक्ष प्रचण्डले प्रतिवेदन वाचन गर्ने कार्यसूची छ । भोलिदेखि पाँच दिनसम्म चल्ने बैठकलाई सामाजिक सञ्जालमा लाइभ प्रसारण गर्ने निर्णय माओवादी केन्द्रको पदाधिकारी बैठलके यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्