१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिम सरकारमा जाने निर्णयबाट पछि हट्यो नागरिक उन्मुक्ति पार्टी

९ साउन, धनगढी । भागबण्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णयबाट पछि हटेको छ । नाउपाको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

सोहीअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई मंगलबार नियुक्त गर्ने तयारी गरेका थिए तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको बताउदै सरकारमा सहभागी नहुने बताएकी थिइन् ।

पार्टी केन्द्रबाट पत्र आएपछि मंगलबार तय भएको सरकार विस्तार रोकिएको संसदीय दलका नेता घनश्याम चौधरीले बताए । ‘हामीले उहाँहरु दुई जनाको नाम मन्त्री र राज्यमन्त्रीका लागि सिफारिस गरेका थियौँ, तर केन्द्रीय अध्यक्ष ज्यूले भागबण्डा नमिलेको भन्दै पत्र पठाउनुभएपछि आजलाई तय भएको विस्तारको काम रोकिएको हो’, चौधरीले भने ।

मुख्यमन्त्री शाहले सोमबार नै नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तय भएको थियो । तर अन्तिम समयमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्