१२ श्रावण २०८१, शनिबार
मनोरन्जन

सुरेश अधिकारीमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन संगीतसम्बद्ध ७ संस्थाको आग्रह

काठमाडौँ । संगीतसम्बद्ध सात संस्थाले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीविरुद्ध रेडियो प्रसारकहरुले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

गीतकार संघ, संगीतकार संघ, प्रस्तोता समाज, संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी संकलन समाजले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीविरुद्धको प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै उनीहरुले खेद समेत व्यक्त गरेका छन् । यी संस्थाले साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

रेडियोको प्रतिनिधिमूलक संस्थाबाट सांगीतिक सिर्जना प्रसारण नगर्ने भन्ने निर्णयलाई सात संगीतसम्बद्ध निकायले दुर्भाग्यपूर्ण, अभिव्यक्ति स्वतन्त्रतामाथिको नांगो प्रहार र निरकुंश कदमको संज्ञा दिएका छन् । विज्ञप्तिमा प्रतिबन्धको निर्णयलाई फिर्ता नलिइए स्रष्टा र कलाकारका सांगीतिक सिर्जनाको प्रसारण रोक्न आफूहरु पनि बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको हालैको एक फेसबुक स्टाटसलाई लिएर रेडियो प्रसारक र संगीसम्बद्ध संस्था आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्