१२ श्रावण २०८१, शनिबार
राजनीति

मर्यादाक्रमप्रति प्रदेशसभाका सभामुख र उपसभामुख असन्तुष्ट

७ साउन, काठमाडौं । प्रदेश सभाका सभामुख र उपसभामुखहरुले नेपाल सरकारले तय गरेको मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

सभामुख देवराज घिमिरेका अनुसार साउन ५ र ६ गते भएको ‘संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम’ मा यो विषय उठेको थियो । प्रदेशसभाका सभामुख र उपसभामुखले मर्यादाक्रमको विषय उठाएपछि उक्त कार्यक्रमले यस विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

‘संघीय शासन प्रणालीको भावना अनुकुल प्रदेश सभाका सभामुख र उपसभामुखको मर्यादाक्रममा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराउने’ सभामुख र उपसभामुखहरुको कार्यक्रमको निष्कर्ष छ ।

नेपालको मर्यादाक्रम अनुसार प्रदेश सभाका सभामुख नवौं नम्बरमा छन् । प्रदेश सभाका उपसभामुख दशौं नम्बरमा छन् ।

प्रतिनिधिसभाका सभामुख घिमिरे अहिले भइरहेको मर्यादाको बारेमा केही प्रश्नहरु उठेको बताउँछन् ।

‘मर्यादाक्रम सरकारले नै तोक्ने परिपाटीबाट हामी आइरहेका छौं । सरकारले तोक्दा एउटै पदलाई कहिले एक तह माथितिर कहिले एक तह तलतिर गर्ने कामहरु गरेको छ’, सभामुख घिमिरे भन्छन्, ‘ राष्ट्रिय सभाको उपाध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख को सँग बराबरी हुने, अथवा कहाँ राख्ने, के गर्दा वैज्ञानिक हुन्छ, यो कुरालाई सविस्तार छलफल गरेर निष्कर्षमा पग्नुपर्छ र त्यो मर्यादाक्रमको आधारमा सुविधादेखि अन्य कुराहरु व्यवस्थित हुनुपर्छ ।’

मर्यादाक्रमबारे एकीकृत रुपमै निर्णय लिएर कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।

पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश पछि प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष छन् । पाचौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन् ।

सातौं नम्बरमा प्रदेश प्रमुख छन् । आठौं नम्बरमा नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख(आफ्नो प्रदेश बाहिर), प्रतिनिधिसभाको विपक्षी दलको नेता, नेपाल त्न पाउने महानुभावहरु, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलको उपनेता, व्यवस्थापिका संसदमा पूर्व सभामुख, प्रतिनिधिसभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष र नेपाल सरकारका पूर्व उपप्रधानमन्त्रीहरु छन् ।

प्रदेश सभाका सभामुखसँगैको नवौं नम्बरको मर्यादामा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभामा सत्तापक्षको मुख्य सचेतक, प्रतिनिधिसभामा विपक्षी दलको प्रमुख सचेतक, प्रतिनिधिसभाका विषयगत समितिका सभापति, राष्ट्रिय सभाका विषयगत समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायधिवक्ता, राष्ट्रिय सभामा सत्तापक्षको नेता र मुख्य सचेतक, राष्ट्रिय सभामा विपक्षी दलको नेता र प्रमुख सचेतक लगायत छन् ।

प्रदेश सभाका उपसभामुखसँगै दशौं नम्बरको मर्यादाक्रममा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसधाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्य सचिव र प्रधानसेनापति छन् ।

प्रतिक्रिया दिनुहोस्