७ जेष्ठ २०८१, सोमबार
प्रदेस समाचार फिचर (Main Feature) सुदूरपश्चिम

देखिन छाडे ‘फोटो स्टुडियो’,

६ साउन, टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे ।

यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे। आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ ।

टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउथिइन् । तर अचेल समयले उनलाई बदलेको छ ।

उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । ‘मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनले भने, ‘आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।’

अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । ‘पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो’, उनले भनिन्, ‘त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ ।’

टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्नुहुन्छ, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जान्थिन् । आजभोलि उनी पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छिन् । ‘त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो’, उनले भनिन्, ‘स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।’

नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छिन् । उनीसँग चार एल्बम अझै छन् । ‘साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो’, उनी भन्छिन्, ‘सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।’

आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् ।

कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । ‘पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो’, उनी भन्छिन्, ‘अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।’ दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरिरहेका सञ्चालक पदम विष्टको अनुभव पनि यस्तै छ ।

विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा पनि दिन थालेका छन् ।

‘मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छ’, उनले भने, ‘सुरु सुरुमा व्यवसाय सुरु गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।’

स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्थ्यो । ‘बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे’, उनी भन्छन्, ‘हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौ । ’

शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछन् । ‘हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्’, उनी भन्छन्, ‘आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।’ शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछन् । ‘मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन’, उनी भन्छ, ‘एकातिर आफैंले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्