१२ श्रावण २०८१, शनिबार
अर्थ

एक क्वीन्टल सुन बरामद प्रकरणमा थप एक जना पक्राउ

५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर भित्रिएको कम्तीमा एक क्विन्टल सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले भर्खरै ट्रान्स ग्लोबल सर्भिसका अर्का सञ्चालक कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । विभाग स्रोतका अनुसार, उनलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नु केहिवेरअघि अनलाइनखबरसँग कुरा गरेका श्रेष्ठले आफूहरुले ‘मोटर पार्टस्’ भनिएको सामग्री मात्रै ल्याएको बताएका थिए । ‘सन् २००२ देखि हामीले कार्गोको काम गर्दै आएका थियौं, यसमा भित्र सुन छ कि के छ भन्ने थाहा हुने कुरा थिएन’, उनले भने, ‘क्याथे एयरलाइन्सले पनि एयरविलमा मोटर पाट्स भनेर दिएको थियो । उताबाट पठाउने एजेन्टले पनि त्यही भनेका थिए ।’

हङकङका क्लीयरिङ एजेन्टलाई पनि सामान पठाउने व्यक्तिबारे बुझ्न निर्देशन दिएको उनले बताएका थिए । ‘उनले वीच्याट नम्बर बन्द भएको जवाफ फर्काएका थिए, मैले ती एजेन्टलाई नै काठमाडौं आउन भनेको छु’, उनले भनेका छन्, ‘सुन छ भन्ने नै थाहा थिएन । हाम्रो कार्गोबाट आएको रहेछ भन्ने थाहा भएपछि आफैं भन्सारसम्म पुगेका थियौं ।’

दिउँसो भन्सार कार्यालय पुगेका कम्पनीका सञ्चालक पुष्कर भट्टलाई विभागले पक्राउ गरिसकेको छ । विभागले एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

दुईवटा कुरियरबाट हङकङमार्फत क्याथे प्यासिफिकको उडानमा सुनसहितको ब्रेक सु नेपाल आएको थियो । बिहीबार दिउँसो भाग्न लागेका चिनियाँ नागरिक जीक्वाङ लिनलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । त्यसपछि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो ।

हालसम्म उनी नै सुन तस्करी प्रकरणको नाइके भएको विभागले बताउँदै आएको छ । उनी विजनेश भिसामा नेपाल आएको खुलेको छ ।

मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १ क्वीन्टल सुन बरामद गरेको थियो । प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ छन् ।

बिहीबार थप चार जना पक्राउ परेसँगै यो प्रकरणमा नियन्त्रणमा पुग्नेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्