१२ श्रावण २०८१, शनिबार
अर्थ

सुन प्रकरणमा भन्सार विभागले बनायो छानबिन समिति

४ साउन, काठमाडौं । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ ।

भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो ।

‘विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो’, सूचना अधिकारी खड्काले भने ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्