१२ श्रावण २०८१, शनिबार
राजनीति

सामान्य प्रशासनले स्थानीय तहलाई भन्यो : समायोजन भएका कर्मचारी फिर्ता नपठाउनू

३ साउन, काठमाडौं । सरकारले स्थानीय तहमा समायोजन र मिलान भएका कर्मचारीहरुलाई फिर्ता नपठाई यथावत राख्न देशभरका स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई फिर्ता नपठाई यथावत काम गराउन परिपत्र गरेको हो । केही स्थानीय तहले कर्मचारीहरुलाई फिर्ता गरेको गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो काम नगर्न परिपत्र गरेको हो ।

‘… विभिन्न स्थानीय तहमा समायोजन तथा समाोजन÷मिलान भई कार्यरत रहेका केही कर्मचारीहरुलाई कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाएको बुझिन आएको छ, प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुने गरी फिर्ता गर्न नमिल्ने भएकाले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन यस मन्त्रालयको मिति २०८०÷०४÷०२ को निर्णयाअनुसार अनुरोध छ’ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

संघीयता कार्यान्वयनका क्रममा सरकारले निजामती सेवामा कार्यरत कर्मचारीलाई स्थानीय र प्रदेश तहमा समायोजन गरेको थियो । त्यतिबेला लोकसेवा आयोगले पनि प्रतिस्पर्धा गराई सोझै स्थानीय तहमा नियुक्तीका लागि पठाएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु कार्यरत र जान चाहेको दुवै स्थानीय तहको सहमतीमा सरुवा हुदै आएका छन् । केही साताअघि बागमती प्रदेशले अन्य प्रदेशबाट बागमतीमा आएका स्थानीय तहका कर्मचारीहरुलाई फिर्ता पठाइने भनी परिपत्र गरेको थियो ।

परिपत्र लगत्तै केही स्थानीय तहहरुले समायोजनपछि सरुवा भएका कर्मचारीहरुलाई फिर्ता पठाउन शुरु गरेका थिए । यसले झनै बेथिती निम्तने भन्दै मन्त्रालयले उनीहरुलाई यथावत राख्न स्थानीय तहहरुलाई परिपत्र गरेको हो ।

हेर्नुहोस् मन्त्रालयको परिपत्र : 

प्रतिक्रिया दिनुहोस्