१२ श्रावण २०८१, शनिबार
समाज

पहिलो साउने सोमबार : पशुपतिनाथमा व्रतालुको भीड

१ साउन काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।

देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि व्रतालु महिलाहरू भक्तिभाव व्यक्त गर्न पुगेका छन् ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।

साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन ।

पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ ।

काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्