२८ असार २०८१, शुक्रबार
विचार

अङ्गदानमा लैंगिक विभेद : अंगदान गर्नेमा बढी महिला, लिनेमा बढी पुरुष

२८ असार, काठमाडौं । रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।

श्रीमानका लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा । यस्तो अवस्थामा घरका पुरुषहरु वा महिलाहरुमध्ये को पहिला अङ्गदानका लागि तयार हुन्छन् होला ? सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ । तर तथ्याङ्कले त्यस्तो भन्दैन । अङ्गदानमा पनि व्यापक लैङ्गिक विभेद् देखिने गरेको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्कअनुसार अहिलेसम्म भएको अङ्गदानको विश्लेषण गर्दा ७८ प्रतिशत अङ्गदाता महिला छन् भने २२ प्रतिशत मात्रै पुरुष छन् ।  महिलाले दान गरेको सबै अङ्ग पाउने सबै पुरुष छन् । महिलाले महिला र पुरुष दुवैका लागि अङ्गदान गरिरहेका बेला पुरुषको अङ्ग पाएर ज्यान बचाउने महिलाको सङ्ख्या अत्यन्त न्यून छ ।

प्रत्यारोपणका लागि अङ्गदान गर्नेमा महिलाको सङ्ख्या बढी छ । महिलाले दान गरेका अङ्ग लिनेजति सबै पुरुष छन् । श्रीमान्लाई अङ्गदान आवश्यक परेमा श्रीमती सजिलै तयार हुँदा श्रीमान्ले भने कन्जुस्याइँ गर्छन् । विभिन्न बहाना बनाउँछन् ।

आफन्तलाई अङ्ग आवश्यक पर्दा दिन तयार हुने महिलालाई अङ्ग प्रत्यारोपण गर्नु परेमा पुरुषहरु पर सर्ने गरेको तथ्याङ्कले देखाएको छ । विशेषगरी मिर्गौला प्रत्यारोपणमा यो अवस्था बढी हुने गरेको हो ।

पुरुषको अङ्गले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अङ्ग दिन तयार हुने तर महिलाको अङ्ग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ । अङ्गदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन् । ‘श्रीमतीले श्रीमान्लाई सजिलै अङ्ग दान गर्छन, तर श्रीमानले श्रीमतीलाई दिन मान्दैन, बुवा आमालाई आवश्यक परेमा छोरीले दान गर्छ तर छोराले दिंदैन’, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘अङ्गदानमा देखिएको यो विभेदले आफूलाई पुरुष भन्न पनि लाज लाग्छ ।’

लैङ्गिक विभेद अङ्गदान र प्रत्यारोपणको चुनौती नै बनेको डा. श्रेष्ठ बताउँछन् । ‘महिलाको अङ्ग लिने अधिकार ठान्ने तर महिलालाई दिन पर्दैन भन्ने पुरुषको मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ’, उनी भन्छन् ।

अङ्गदान गर्ने पुरुषको सङ्ख्या बढाउनकै लाागि महिलालाई पुरुषले अङ्ग दिँदा रु ५० हजार आर्थिक सहयोगको व्यवस्था छ । यो प्रावधानले पनि धेरै सुधार ल्याउन सकेको छैन ।

 महिलाले पनि प्राथमिकतासाथ मृर्गौला प्रत्यारोपण गर्न पाउन् भनेर मस्तिष्क मृत्युबाट प्राप्त हुने मिर्गौला वितरणमा महिलालाई पुरुषको दाँजोमा तेब्बर प्राथमिकता दिइएको डा. श्रेष्ठ बताउँछन् ।

समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकको रुपमा लिइन्छ । श्रीमान्ले परिवारको पालनपोषण गर्नुपर्छ भन्ने पुरानो मान्यता छ जसले गर्दा उसले अङ्गदान गर्नु हुँदैन भन्ने सोच परिवार र आफन्तले राख्छन् । तर यो सबै पितृसत्ताकै उपज हो भन्छिन्  अधिकारकर्मी प्रतिमा शर्मा ।

‘हिंसा घरबाट र आफनै श्रीमान्बाट बढी हुन्छ । श्रीमान्लाई केही भए श्रीमतीले सबैथोक त्याग गर्न तयार हुन्छिन् तर पुरुषले महिलालाई उपयोग मात्रै गर्छन्’, उनी भन्छिन् । उपयोगितावादले गर्दा महिलाप्रति पुरुषको सम्बेदना कम हुने गरेको उहाँको विश्लेषण छ ।’महिलाप्रति व्यक्ति र समाजको सोच बदल्न सानो लगानीले हुँदैन । सरकार, निजी क्षेत्र तथा सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ, शिक्षाको पाठ्यक्रम पनि त्यही अनुसारको बनाउनुपर्छ’, शर्मा थप्छिन् ।

लैङ्गिक विभेद अन्त्य गर्न पितृसत्तात्मक संरचना नै बदल्नुपर्ने र तीनै तहका सरकारले प्रत्येक घरधुरीमा पुग्ने गरी व्यापक सचेतना जगाउनु पर्ने सुझाव अधिकारकर्मी शर्माको छ ।

अङ्ग नपाएका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपालमा २०७४ देखि मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने प्रचलन सुरु भयो । 

१८ वर्षभन्दा माथिका व्यक्तिले स्वइच्छाले आफ्नो नजिकका नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव अङ्ग, मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ कानुनको अधिनमा रही अङ्गदान गर्न सक्छन् । हाम्रो मृत्युपछि डढेर र गलेर जाने अङ्गले अरुको जीवन बचाउन सकिन्छ ।

अङ्ग शरीरको विशेष काम गर्ने अवयव हुन् जस्तैः मुटु, फोक्सो, मिर्गौला, कलेजो, प्याङक्रियाज तथा आन्द्रा इत्यादि । त्यस्ता रोगीहरु जसको रोगका कारण अङ्ग विफलताको अन्तिम चरणमा बसेर मृत्यु कुरेकालाई अङ्गदानले नयाँ जीवन दिन्छ ।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्षेनी तीन हजार मानिसको मिर्गौलाले काम नगर्ने हुन्छ तर प्रत्यारोपण भने तीन सयको मात्रै भइरहेको छ । बाँकी २७ सयको प्रत्यारोपण जरुरी छ तर मिर्गौला छैन ।

अङ्गदान र प्रत्यारोपण बारेमा पर्याप्त सचेतना नहुँदा अङ्ग नपाएकै कारण ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको डा. श्रेष्ठको भनाइ छ । ‘स्वस्थ व्यक्तिले पनि अ्गदान गर्न चाहँदैन, मृत व्यक्तिको अङ्ग निकाल्न परिवार र आफन्तले दिदैनन्’, उनी भन्छन्  ।

नेपालमा अहिलेसम्म झण्डै ११ सयको मिगौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपणका लागि अङ्गदान गर्नेहरु पनि सबै स्वस्थ छन् । मिर्गौला दान गर्ने व्यक्ति धेरै वर्ष बाँच्ने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको डा. श्रेष्ठ बताउँछन् ।

कुनै पनि व्यक्तिको अङ्ग फेल भएमा दीर्घकालीन उपाय भनेको अर्को अङ्ग राख्ने हो । अंगत्यारोपणको विकल्प छैन । मिर्गौलाको डायलाइसिस सेवा भएपनि प्रत्यारोपणको विकल्प होइन ।

‘डायलाइसिस गरेपछि प्रत्यारोपण गर्नु पर्दैन भन्ने भ्रम हामीमा छ तर डायलाइसिसले मानिसलाई केही समय बचाउने मात्र हो, पुनःस्थापना होइन’, श्रेष्ठ भन्छन्, ‘डायलाइसिस गरेर बस्नु भनेको सधैं बिरामी भइरहनु हो भने मिर्गौला प्रत्यारोपण रोग निको पारेर पहिलाको झैं तन्दुरुस्त हुनु हो, रोगमुक्त हुनु हो ।’ नेपालमा एक वर्षमा झण्डै ३० हजार डायलाइसिस सेसन हुने गरेको छ । 

मधुमेह रोग नभएको, उच्च रक्तचाप (सुगर, प्रेसर) बढेर धेरै औषधि नखाएको, क्यान्सर र सरुवा रोग नलागेका मानिसले अ्गदान गर्न सक्छन् । १८ वर्षदेखि माथि ६५ वर्ष र स्वस्थ छ भने  त्यो भन्दा पनि धेरै उमेर भएकाहरूले पनि अंगदान गर्न मिल्छ ।

नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार स्वस्थ व्यक्तिले आफ्नो  नजिकको नातेदारलाई अङ्ग दिन मिल्छ । नजिकको नातेदार भन्नाले बाबु-आमा, दाजु-भाइ, दिदी-बहिनी, बाजे-बजै, छोरा-छोरी, नाति-नातिनी, भतिजा-भतिजी, ज्वाँइ-जेठान, काका-काकी, भाञ्जा-भाञ्जी, मामा-माइजु, श्रीमान-श्रीमती, दुई वर्षदेखि सँगै बसेका धर्मपुत्र-धर्मपुत्री, सौतेलो बाबु-आमालगायतले अङ्ग आपसमा लिन दिन सक्ने कानुनी व्यवस्था छ ।

नातेदारको बीचमा अङ्ग गलिने दिने भए पनि मिलेन भने अर्को परिवारसँग मिल्यो भने साटासाट गर्न पाइने व्यवस्था छ । साटासाट गरेर पनि प्रत्यारोपण हुने गरेको छ ।

नजिकका नातेदारले मात्र अङ्गदान गर्न पाउने प्रावधान भएकाले कानुन विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र रु पाँच लाख जरिवाना हुने प्रावधान रहेको छ ।

यस्तै मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त भएको अङ्ग पनि प्रत्यारोपण हुने गरेको छ । तर नेपालको हकमा अङ्ग प्रत्यारेपणका लागि सबैभन्दा प्रभावकारी मस्तिष्क मृत्युपश्चातको अङ्ग दान भए पनि चेतना नहुँदा दान गर्न धेरैले कन्जुस्याइँ गर्ने गरेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा. कल्पनाकुमारी श्रेष्ठ बताउँछन् । आँखादान जस्तो सहज अरु अङ्ग दान हुन नसकेको उनको भनाइ छ ।

नेपालमा अहिलेसम्म २७ सय बढीले मष्तिष्क मृत्युपश्चात अङ्गदान गरेका छन् भने २२ सय जनाले दान गर्ने घोषणा गरेका छन् । अङ्ग नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न अङ्गदानको महत्व र आवश्यकता सबै नागरिकलाई बुझाउन आवश्यक रहेको बताउँछन् डा. श्रेष्ठ ।

उनका अनुसार मस्तिष्क मृत्युपछिको अङ्गदान कुनैपनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणा भएपछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको निर्धारित समयसम्म आँखादान मात्रै सम्भव हुन्छ ।

        मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गर्छ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकाल्ने काम हुन्छ । मस्तिष्क मृत्युको घोषणा ऐनले तोकेका योग्यता पुगेका चिकित्सकहरुमध्ये बिरामीको उपचारमा संलग्न चिकित्सकसहित कम्तिमा एकजना ऐस्थेलियोजिष्ट वा इन्टेसिसभस्ट रहेको टोलीबाट परीक्षण पछि मात्रै गरिन्छ । यस्ता चिकित्सकहरु प्रत्यारोपण कार्यमा संलग्न हुन पाउँदैनन् ।

        यसरी चिकित्सा विशेषज्ञको टोलीले छ घण्टाको अन्तरालमा दुई पटक परीक्षण गरी सुनिश्चित भएपछि मात्रै मस्तिष्क मृत्युको घोषणा गर्ने डा.श्रेष्ठ बताउनुहुन्छ । “अङ्गदान गर्ने घोषणा गरेको व्यक्तिको मृत्यु हुन्छ, आफन्त शोकमा हुन्छ्, यस्तो अवस्थामा  परिवार र आफन्तलाई अङ्गदानका लागि बुझाउन निकै सङ्घर्ष गर्नुपर्छ, कतिपय ठाउँमा समस्या भोग्नुपरेको छ”, उहाँ भन्नुहुन्छ ।

        प्रत्यारोपण केन्द्रका अनुसार ‘ब्रेन डेथ’ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ । मुटु छ घण्टा, कलेजो १५ घण्टा,  फोक्सो आठ घण्टा, सानो आन्द्रा १० घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ ।

मृत्युपश्चात अङ्गदाताको शरीरबाट सावधानीपूर्वक अङ्ग निकालिने भएकाले शवमा कुनै पनि विकृति नदेखिने उनी बताउँछन् ।

मिर्गौला स्वस्थ राख्न हाम्रो आनिबानी परिवर्तन गर्नुपर्छ । हरेक दिन प्रशस्त पानी पिउने, उच्च रक्तचाप र शरीरको तौल नियन्त्रणमा राख्न, मद्यपान र धुम्रपान नगर्न,  नियमित स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्यप्रति सचेत रहन चिकित्सकको सुझाव छ ।

पहिले रक्तदान गर्नेको सङ्ख्या निकै कम थियो अहिले सचेतनाका कारण बढ्दै गएको छ । तीनै तहका सरकारले अङ्गदान नै जीवन दान हो भन्ने महत्व बुझाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्