९ जेष्ठ २०८१, बुधबार
समाज

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

२७ असार, काठमाडौँ । ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु’, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनी दाहालले आज भौतिक संसार छाडेकी छिन् ।  

निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान ८:३३ बजे निधन भएको उनको उपचारमा संलग्न प्रा. डा. युवराज शर्माले जानकारी दिएका थिए ।

खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् ।

सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन्, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।’

तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्वपूर्ण छ ।

‘यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु । तपाईंको अभाव महसुस भइरहनेछ’, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।’

पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराइन् । माओवादी जनयुद्धको समयमा उनले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्छन्, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । ‘हामी सबैको आमाकारुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने ।   

जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन् ।  

माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन् । माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ ।

प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो ।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सरेकी थिइन् ।  औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उनी पढेलेखेका महिलाभन्दा कम थिइनन् ।

विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उनले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन् । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो ।

माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पुर्‍याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन ।   

खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेकी सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् । सीता देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन् ।

          महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएकी छिन् । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छन् । पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिइनन् ।  

लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउँछिन् । ‘पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?’, उनले भनेकी छिन् ।   

माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन् । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन् ।  

‘तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्’, सीताले भनेकी थिइन्, ‘जनताको रगत बगिसकेको छ । तपाईंहरुको ताल के हो यस्तो ? यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन् ।’

यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उनले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा परिनन्  । कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर उनकै नाममा एउटा कविता समेत लेखेका छन् ।   

          श्रीमान् चलाइनौ तिमीले

          छोराछोरी चलाइनौ

          न आँखा चलायौ, न नाक चलायौ

          न रवाफ न धाक चलायौ

          न हात चलायौ तिमीले

          न मुख चलायौ

          बालुवाटारमा बसेर

          न बालुवाटार चलायौ

          कसैलाई नचलाईकन आज

          तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।

          पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उहाँको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा ( एमाले)सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन् ।  

जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो । तर, मृत्‍युको अगाडि उनले विजय प्राप्त गर्न सकिनन् र यस धर्तीबाट महाप्रस्थान भइन् सदा सदाका लागि ।

प्रतिक्रिया दिनुहोस्