१२ श्रावण २०८१, शनिबार
समाज

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८:३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्