११ श्रावण २०८१, शुक्रबार
समाज

मन्त्री साउद भन्छन्- परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक छ

‘मान्छे विदेश गइरहेको छ, उसलाई सहयोग गर्ने निकाय छैन’

२५ असार, काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा न्यूनतम जनशक्ति पनि नभएको भन्दै उनले ओएनएम सर्भे गर्नुपर्ने बताए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘रि–स्ट्रक्चरिङ गर्नुपर्ने कुरा र ओएनएम गर्नुपर्ने कुरा मैले भनिसकेको थिएँ । यसमा जति परराष्ट्र मन्त्रालयलाई दायित्व दिइएको छ, त्यो दायित्व निर्वाह गर्नका लागि न्युनतम जनशक्ति हामीसँग हुनैपर्छ ।’

नेपालको लगभगत १५ प्रतिशत जनशक्ति विदेश पलायन भएको तथ्यांक प्रस्तुत गर्दै उनले त्यसबाट संवेदनशील हुनुपर्ने बताए ।

‘मान्छे गइरहेको छ, उसलाई सहयोग गर्ने कुनै निकाय छैन । उसले सम्झीसम्झी त्यहीँको राजदूतावासलाई गुहार्छ । कतिपय देशमा हाम्रो राजदूतावास नै छैन । राजदूतावास अर्को देशमा छ,’ उनले भने, ‘अर्को देशमा भएको राजदूतावासमा पनि दुई चार जना, पाँच सात जना मान्छेहरु छन् । हाम्रो आर्थिक क्षमताको दृष्टिकोणले सीमित जनशक्ति छ । त्यसले गर्न सक्ने सहयोग र राहतका कामहरुको सीमा छ । त्यसलाई कसरी सहयोग अघि बढाउने भन्ने बारेमा पनि हामीले गम्भीर रुपमा सोच्नुपर्ने भएको छ ।’

नेपालको सम्बन्ध बाहिर विस्तार हुँदै जाँदा अनुसारको दायित्व पनि बढेको मन्त्री महतको भनाइ छ । त्यसैले विदेश जानेहरुको हितलाई पनि दृष्टिगत गरेर केही गर्नैपर्ने मन्त्री साउदले बताए । यो कार्यमा सहयोग गर्ने बचन समितिका सदस्यहरुबाट पाएको भन्दै मन्त्री महतले त्यसबाट ठूलो ऊर्जा प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्