१२ श्रावण २०८१, शनिबार
समाज

एसईईमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बागमतीका धेरै, कर्णाली र सुदूरपश्चिम पछाडि

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा बागमतीको नतिजा राम्रो देखिएको छ । बागमतीमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अन्य प्रदेशमाभन्दा बढी देखिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११ हजार ४८१ रहेको छ । जुन बाँकी ६ प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने कुल विद्यार्थी संख्या भन्दा बढी हो । बागमतीमा कुल ९९ हजार २४३ जनाले एसईई दिएकामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने ११.५६ प्रतिशत रहेका छन् ।

यो ग्रेड समूहमा ग्रेडिङ हुने विद्यार्थी लुम्बिनीमा २ हजार ७९५, कोशीमा २ हजार ७०७, मधेशमा २ हजार १८५, गण्डकीमा १ हजार ६४७, सुदूरपश्चिममा ४०० र कर्णालीमा २४० जना रहेका छन् । प्रतिशतमा हिसाब गर्दा ३.६ देखि ४ जीपीए ल्याउनेहरु गण्डकीमा ३.९३, कोशीमा ३.५२, लुम्बिनीमा ३.३८, मधेशमा २.८२, सुदूरपश्चिममा ०.७३ र कर्णालीमा ०.६४ प्रतिशत छन् ।

३.२० देखि ३.६० जीपीएसम्म ल्याउने विद्यार्थी पनि बागमती प्रदेशमा नै धेरै रहेका छन् । यो ग्रेड समूहमा बागमतीका २० हजार २२१ जना विद्यार्थी छन् । जुन यो प्रदेशबाट एसईई दिने कुल विद्यार्थी संख्याको २०.३७ प्रतिशत हो ।

यो ग्रेड समूहमा कोशीका ८ हजार ३३२, मधेशका ८ हजार ४४९, गण्डकीका ४ हजार ६९३, लुम्बिनीका ६ हजार ८१३, कर्णालीका १ हजार ३२० र सुदूरपश्चिमका १ हजार ८१० जना विद्यार्थी रहेका छन् । प्रतिशतमा हिसाब गर्दा ३.२ देखि ३.६ जीपीए ल्याउनेहरु गण्डकीमा ११.२०, मधेशमा १०.९२, कोशीमा १०.८५, लुम्बिनीमा ८.४२, कर्णालीमा ३.५५ र सुदूरपश्चिममा ३.३३ छन् ।

सातै प्रदेशको एसईई नतिजा
प्रदेशकूल विद्यार्थी संख्या.६ देखि ४ जीपीए(%).२ देखि ३.६ जीपीए(%)
बागमती९९,२४३११.५६२०.७३
गण्डकी४१,८८४३.९३११.२०
कोशी७६,७४३३.५२१०.८५
लुम्बिनी८२,६७७३.३८८.२४
मधेश७७,३२४२.८२१०.९२
सुदूरपश्चिम५४,२५८०.७३३.३३
कर्णाली३७,४५७०.६४३.५५
कूल४,६९,५८६  
स्रोत : राष्ट्रिय परीक्षा बोर्ड

२.८० देखि ३.२० जीपीए ल्याउनेमा पनि बागमतीकै विद्यार्थी धेरै छन् । बागमतीका १९ हजार २८८, मधेशका ११ हजार ५१२ र कोशीका ११ हजार ६२९ जना, लुम्बिनीका १० हजार २०१, सुदूरपश्चिमका ८ हजार १२, गण्डकीका ६ हजार ८५७ र कर्णालीका ३ हजार ६८८ जना विद्यार्थी रहेका छन् ।

सबैभन्दा कमजोर ग्रेड समूह अर्थात् ०.८० देखि १.२ जीपीए ल्याउनेमा भने बागमतीका कम विद्यार्थी छन् । सबैभन्दा धेरै लुम्बिनीका ७१९, सुदूरपश्चिमका ६३३, मधेशका २६५, कोशीमा २६४, कर्णालीका १२४, बागमतीका ११३ र गण्डकीका ८२ रहेका छन् ।

कमजोर ग्रेड समूह अन्तर्गत नै १.२ देखि १.६ जीपीएसम्म ल्याउनेमा सबैभन्दा धेरै लुम्बिनीका १० हजार ५७३ जना छन् । त्यस्तै सुदूरपश्चिमका ८ हजार ८३३, मधेशका ७ हजार २५०, कोशीमा ४ हजार ९५८, बागमतीका २ हजार ५४३, गण्डकीका २ हजार ५८ र कर्णालीका २५४ जना रहेका छन् ।

१.६० जीपीए भन्दा कम ग्रेड ल्याउनेले कक्षा ११ पढ्न पाउने छैनन् । उनीहरुले कक्षा ११ पढ्न योग्य हुन ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्