१२ श्रावण २०८१, शनिबार
खेलकुद

राजेन्द्र राई र लिलबहादुर थापाको जोडीले जित्यो मदन स्मृति ब्याडमिन्टन, कमल थापा पराजित

२१ असोज, काठमाडौं। राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि जितेकोछ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राई र गण्डकी प्रदेश सांसद थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाइनलमा २१–१७, २१–१९ ले हराउँदै उपाधि जितेको हो ।

प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्व मन्त्री भानुभक्त ढकालको जोडी तेश्रो भए ।

नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको फाईनल प्रवेश गर्ने क्रममा राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र ञभानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशकुमार तिमल्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत लगायतले पुरस्कार वितरण गरे ।

मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपू तथा वर्तमान सांसद र मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्