१२ श्रावण २०८१, शनिबार
मनोरन्जन

रकस्टार रविन तामाङको निधन

२० असार, काठमाडौं। नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिए ।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउ मृत भेटिएको चन्दले बताए ।

मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए।

पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गरेका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्