१२ श्रावण २०८१, शनिबार
समाज

बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ

११ असार, काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। एसपी रेग्मीका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ।

यसअघि जेठ ३२ गते अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको थियो। सोही दिन प्रहरीले वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो।

पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।

सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने प्रवृत्तिमा नियन्त्रण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्