बागमती
मुख्य समाचार
विशेष समाचार
समाचार
काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् । नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेका हुन् । ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ । हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ ।’ थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ । ‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने । ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औंल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गरे । उनले भने,‘उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौं । उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो । तर अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो । यो कुरा दुखद छ ।’ थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन् । ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ उनले भने । कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।’ तर उनले जोड दिए,‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।’...