News and Updates

काठमाडौं । आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।
यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
दिउँसो १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी, कृषिजन्य उत्पादन उख,ु अलैंची, अदुवा, कफि, चिया, सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन, रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, दिनको २ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७४ औँ बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ ।
आज बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने छ । बैठक भने दिनको २ बजे बस्दैछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तक्र्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया