News and Updates

काठमाडौं । सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रीपरिषदका निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।
उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।
उनले भने, ‘संसद अवरुद्ध छ । संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानविन समिति गठन होस् भन्ने छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ ।’
यसैगरी प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।
त्यस्तै असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्नेलगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया