Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

News and Updates
13 घण्टा अघि

झापा, ७ जेठ । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।

 

 

सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

 

 

विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताए । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।

 

 

बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ ।

 

 

दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

 

 

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताए ।

 

 

विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो ।

 

 

कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिए ।

 

 

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया