News and Updates

काठमाडौं । बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरुको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ ।
पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।
स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन् । करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ । ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन् । डेढसय जति सानाठूला गाडीहरु आएका छन् । शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने ।
‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुलेपछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो । यसले स्थानीय स्तरमा डेढसय बढीलाई रोजगारी मिलेको छ । मुस्ताङवासीलाई उत्साहित बनाएको छ । होटलहरु भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ,’ गुरुङले भने ।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए । सोही कथावस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’को छायांकन भइरहेको हो । मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।
सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए ।
फिल्म निर्माण टोली कुछ्प तेरङ्गा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङसम्मका स्थानहरुमा छायांकन गर्ने योजना छ,’ उनले भने ।
आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधतालगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने निर्माण टिमको योजना छ । वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यसअघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ ।
पछिल्लो समय मुस्ताङ पर्यटन मात्र नभइ ठूला विदेशी एवम स्वदेशी फिल्म, सर्ट मुभि, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि अब्बल गन्तब्य बन्दै गइरहेको छ ।
अनुमति लिनै हैरानी
यता, पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको थियो ।
अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले अनुमति पाएको थियो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रभास सहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।
जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आएका हुन् । फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्स गरिरहेको हो ।
सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको थियो ।
विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले समयसीमाभित्र काम सक्न निर्माण टीमलाई कठिनाइ पर्ने गुनासो गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया