Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष

News and Updates
6 घण्टा अघि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन् ।

 

 

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यका स्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरु एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन् ।

 

 

उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं । हामी एजेण्डाको नजिक पुगेका छौं । तर यसको लागि कोहि पनि उत्ताउलो हुनुहुँदैन । विग्रियो भने हामीबाटै विग्रिने हो । हामी सबै जिम्मेवार हुनुपर्छ । इमानदार हुनुपर्छ ।’

 

 

साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए । उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए ।

 

 

उनले भने, ‘हामी अहिले जति छौं त्यतिले मात्रै पुग्दैन । यो कुरा म जहिले पनि भन्ने गरेको छु । छरिएकाहरु मिलेर आम जनताहरुलाई साथमा लिएर अगाडि बढ्दैनौं तबसम्म एजेण्डा पूरा हुन सक्दैन । जेठ १५ गते ११ दिन बाँकी छ १२ दिन बाँकी छ भनेर होइन भोलि नै छ भनेर काम सुरु गर्नुपर्छ । आन्दोलन राजसंस्था पुनस्र्थापनाको आन्दोलन, हिन्दु राष्ट्र पुनस्र्थापना गर्न चाहनेको पनि हो । देशमा शुसासन र विकास चाहनेको पनि हो । बैंक वित्तिय सहकारी पीडित मानिसहरुको पनि हो, देशभित्रै रोजगारीको वातावरण निर्माण हुनुपर्छ भन्नेको पनि हो र यो आन्दोलन विदेशमा रहेका गैरआवासीय नेपालीहरुको पनि हो । यो सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्छ ।’

 

 

यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहेनत गर्नुपर्ने बताए । उनले अहिले थुप्रै पार्टीका शक्तिहरु मिलेकोले आफूहरु पनि मिलेर अगाडि बढ्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया