News and Updates

काठमाडौं । शैक्षिक संस्थाहरू र प्राविधिक उद्योगबीचको सहकार्यलाई सुदृढ गर्दै साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान, र प्राविधिक नवप्रवर्तनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।
ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ पनि साक्षीका रूपमा उपस्थित थिए ।
यो सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिनेछ, जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघका उपाध्यक्ष तथा (नेपालको एक समर्पित साइबर सुरक्षासम्बन्धी कम्पनी) का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यस सहकार्यलाई ‘प्रभावकारी पहल’ का रूपमा व्याख्या गरे ।
उनले भने, ‘साइम कलेज र टोक्मा टेक्नोलोजिजको यो सहकार्यले नेपालका युवाहरूलाई उद्योगमै काम गर्न सक्ने क्षमतासहित तयार गर्नेछ ।’ उनको अनुसार, यो कदम नेपाललाई आइटी हब बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खान्छ ।
साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले वर्तमान शिक्षा प्रणालीमा उद्योगसँगको सहकार्यको महत्व उल्लेख गर्दै भने, ‘यो समझदारी हाम्रो विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने र भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला हो ।’
सम्झौता तीन वर्षका लागि प्रभावकारी हुनेछ र परस्पर सहमतिमा विस्तार गर्न सकिनेछ। यस सम्झदारीले दुवै पक्षका जिम्मेवारीहरू तोकेको छ । साइम कलेजले इन्टर्नशिप र प्रोजेक्टका लागि विद्यार्थी सिफारिस गर्ने, आवश्यक शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने, र संयुक्त परियोजनाका लागि संकायसँग समन्वय गर्नेछ ।
त्यसैगरी, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर प्रदान गर्ने, विद्यार्थी तथा संकायलाई उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई संयुक्त कार्यक्रम आयोजना गर्नेछ ।
दुवै संस्थाले यो सहकार्यले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारीको लागि सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् । यस सहकार्यले नेपालका शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया