News and Updates

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ । प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए ।
त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका थिए ।
मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो । तर मैदानको अवलोकनका लागि नेपाल न्यूज बैंक टीम आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम थियो ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखमा ठेक्का लिएको बिकेओआई–केसीडिसी–बिजी जेभीले मैदान निर्माणको कामलाई तिब्रता दिइरहेको देखिन्छ । फ्ल्ड लाइड जडान गर्नका लगि २७ करोड ४० लाख रुपैयाँमा अर्को ठेक्का पाएको विशाण–ईश्वरी जोइन्ट भेन्चरको काम भने रफ्तारमा दौडिएको देखिदैन् ।
अन्य काम सकिएपछि लाइट जडानको काम सुरु गर्ने विशाण–ईश्वरी जोइन्ट भेन्चरको दाबी छ । लाइटका लागि पूर्वाधारको काम जारी रहेपनि प्यारापिटको काम सकिएपछि थप काम गर्न सहज हुने दाबी गरिएको छ ।
काममा सुस्तता देखिएपछि प्रधानमन्त्री ओलीले ३०० दिनभित्र रिंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण नै सोध्न भ्याएका छन् । उनले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन् । उनले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका छन् । तर निर्माण पक्षले जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने काममा कानुनी समयसीमाको समस्या देखाएको छ ।
बिकेओआई–केसीडिसी–बिजी जेभीको प्यारापिट निर्माण प्रोजेक्टको डाइरेक्टर भरत गिरीले २४ घण्टा नै खटेर र सबै कामदारहरु परिचालन गरेर काम गरिरहेको बताउँछन् । ‘हामीले ६५ प्रतिशत काम पूरा गरेका छौं । प्यारापिट कास्टिङको काम जेठ भित्रमा भ्याउँछौं । त्यसपछि कुर्सी स्टल गर्ने काम असारमा गछौं । निर्माण सामग्री र बजेटको कुनै अभाव नभएपनि प्रथप पटक म्याद थप गरेकाले तोकिएको समयमा काम सक्छौं,’ गिरीले भने ।
‘३०० दिनको तयारी गरेर सरकार अगाडि बढदा २३४ दिन सकिएपछि ६६ दिन बाँकी हुँदा निर्माण व्यवसायीका रुपमा छनोट भयौ । ६६ दिन बाँकी रहदा एग्रिमेन्ट गर्यौं । त्यसपछि करिब १० दिन मौसम र चाँडपर्व, डिजाइनमा परिवर्तन/परिमार्जन गर्नुपर्ने अवस्था आयो । त्यस कारण पनि तोकिएको् समयमा काम गर्न नसकिएको हो । तर थपिएको समयमा निर्माण कार्य सकिन्छ । यो प्रथम पटक म्याद थपिएको हो,’ गिरीले भने ।
निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फÞ्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयलको दाबी छ ।
सरकारले उक्त मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने घोषणा गरिसकेकाले निर्माण पक्ष थप दबाबमा परेको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका थिए । उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए ।
तर पछिल्लो समय भारत–पाकिस्तानबीच देखिएको तनावका कारण कुर्सीलगायतका सामग्री ल्याउन कठिन हुने निर्माण टीमको भनाइ छ । यता, लाइट जडानको जिम्मेवारी पाएको कम्पनीले पनि काम भने जारी राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया