Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

News and Updates
8 घण्टा अघि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

 

मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

 

‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो’, उनले भने ।

 

उनले संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवाभावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास व्यक्त गरे ।
हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु हाम्रा लागि खुसीको विषय भएको उनको भनाइ थियो ।

 

‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने ।

 

उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आम नागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुशीको विषय हो भन्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 

साथै, १३५ वर्षको लामो यात्रा पूरा गर्दै एक साधारण अस्पतालबाट आज एउटा प्रतिष्ठानको रुपमा स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रको महत्वपूर्ण आधार बन्नु खुसीको विषय भएको उनको भनाइ थियो ।

 

राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालको रुपमा यसले चिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पु¥याउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे । सो कार्यक्रममा प्रा. डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया